सरकारी हस्तक्षेपको मूल्य: फिफाले गर्यो एन्फामाथि प्रतिबन्ध
फिफाद्वारा एन्फा निलम्बित, नेपालको फुटबल अन्तर्राष्ट्रिय संकटमा
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय FIFA ले अखिल नेपाल फुटबल संघ (ANFA) लाई तत्काल प्रभावबाट निलम्बन गरेको जनाएको छ। फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले २४ जुन २०२६ मा जारी गरेको परिपत्रमार्फत एन्फालाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको जानकारी दिएका हुन्।
फिफाको निर्णयसँगै एन्फाले आफ्ना सबै सदस्यता अधिकार गुमाएको छ। अब एन्फा तथा यसअन्तर्गतका क्लब र पदाधिकारीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता, बैठक वा कार्यक्रममा सहभागिता जनाउन पाउने छैनन्। साथै फिफा र एएफसीबाट प्राप्त हुने विकास कार्यक्रम, तालिम तथा आर्थिक सहयोगसमेत रोकिएको छ।
फिफाले अन्य सदस्य राष्ट्रहरूलाई समेत एन्फा तथा त्यससँग आबद्ध निकायहरूसँग कुनै खेलकुद सम्बन्ध नराख्न निर्देशन दिएको छ। यसअघि राष्ट्रिय खेलकुद परिषद् (NSC) र एन्फाबीचको विवादलाई लिएर फिफाले नेपाललाई पटक–पटक चेतावनी दिएको थियो। फिफाले सरकारी हस्तक्षेपलाई ‘तेस्रो पक्षको हस्तक्षेप’ भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको थियो।
निलम्बनका कारण नेपाली राष्ट्रिय फुटबल टोली, क्लबहरू तथा खेलाडीहरूको अन्तर्राष्ट्रिय सहभागिता अनिश्चित बनेको छ। साथै फिफा र एएफसीबाट प्राप्त हुने अनुदान तथा प्राविधिक सहयोगसमेत प्रभावित हुने भएको छ।
फिफाले परिस्थितिमा सुधार आएमा वा आवश्यक सर्त पूरा भएमा निलम्बन कुनै पनि बेला फुकुवा गर्न सकिने जनाएको छ। हाल भने नेपाली फुटबल गम्भीर अन्तर्राष्ट्रिय संकटमा परेको छ।
Comments