काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कबिन्द्र बुर्लाकोटीले पार्टीको महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।
बुर्लाकोटीले पार्टीको हित र एकतालाई व्यक्तिगत आकांक्षाभन्दा माथि राख्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले लामो संघर्ष र मेहनतबाट निर्माण भएको पार्टीमा एउटै पदका लागि धेरै नेताहरूबीच प्रतिस्पर्धा हुनु आफूका लागि प्राथमिकताको विषय नभएको उल्लेख गरेका छन्।
उनले राष्ट्र निर्माणको साझा उद्देश्यका लागि पार्टीभित्र एकता र समझदारी कायम रहन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। पार्टीभित्रको सकारात्मक वातावरण र बृहत् एकताको भावनालाई थप मजबुत बनाउन आफूले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनको भनाइ छ।
रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा जारी रहेका बेला बुर्लाकोटीको यो निर्णयले पार्टीभित्रको नेतृत्व चयन प्रक्रियामा नयाँ चर्चा सुरु भएको छ। उनले आफ्नो निर्णयलाई समर्थन र सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक तथा पार्टीका साथीहरूलाई धन्यवाद समेत व्यक्त गरेका छन्।
Comments