इंग्ल्यान्ड र अर्जेन्टिनाको भिडन्तमा जर्सी नम्बर १० को संयोग
काठमाडौं । विश्वकपको सेमिफाइनलमा पुराना प्रतिन्द्वन्द्वी इंग्ल्यान्ड र अर्जेन्टिना भिड्दैछन् । यी दुईको भिडन्तमा एक संयोग छ । त्यो हो जर्सी नम्बर १० । दुवै टोली जर्सी नम्बर १० का स्टारको प्रदर्शनमा निर्भर देखिन्छ ।
अर्जेन्टिनाका जर्सी नम्बर १० का खेलाडी सुपरस्टार लियोनल मेसी हुन् । विश्वकपमा उनले २१ गोल गरिसकेका छन् भने सन् २०२६ को संस्करणमा आठ गोल गर्दै उनी गोल्डेन बुटको बलियो दाबेदार बनेका छन् । उनले इंग्ल्यान्डसँग पहिलो म्याच खेल्दैछन् ।
चारदशकअघि जर्सी नम्बर १० का म्याराडोनाले इंग्ल्यान्डलाई विश्वकपबाहिर पठाएका थिए । यसपटक उक्त इतिहासलाई दोहोर्याउन अर्जेन्टिना जर्सी नम्बर १० का सुपरस्टारसँग निर्भर छ । अर्जेन्टिनाका कोच लियोनल स्कालोनीले इंग्ल्यान्ड बलियो प्रतिद्वन्द्वी रहेको बताएका छन् । आफ्नो टोली विश्वकपको यस क्षणसम्म मेस्सीको उत्कृष्ट प्रदर्शन र अन्य खेलाडीको साथले आइपुगेकोले बलियो प्रतिद्वन्द्वीसँग खरो सामनाका लागि तयार रहेको उनको भनाइ छ । ''हामी बलियो प्रतिद्वन्द्वीको सामना गर्दैछौँ । उनीहरूसँगै निकै उत्कृष्ट कोच र खेलाडी छन् । मलाई लाग्छ मेस्सी पनि बलियो प्रतिद्वन्द्वीलाई पराजित गर्दा सबैभन्दा बढी खुशी हुनेछन्,''स्कालोनीको भनाइ छ ।
अर्जेन्टिनासँगको भिडन्तका लागि उत्साही छन् इंग्ल्यान्डका कोच थोमस टुचेल । ''यस क्षणमा म हरदम मेरो टोलीको साथमा रहन्छु । मेरा लागि यो पल सबैभन्दा सुन्दर क्षण हो,'' उनले भनेका छन् ।
इंग्ल्यान्ड बलियो प्रतिन्द्वन्द्वीसँगको तीतो विगत मेटाउने दाउमा छ । इंग्ल्यान्डसँग पनि प्रतिभाको कुनै कमी छैन । तर तीतो विगत मेटाउनका लागि इंग्ल्यान्ड पनि जर्सी नम्बर १० का जुड बेलिंघमसँगको प्रदर्शनमा भर परिरहेको छ । बेलिंघमले नकआउट चरणको दुई खेलमा चार गोल गर्दै ह्याण्ड अफ गड म्याराडोनाको कीर्तिमानसँग बराबर गर्ने पहिलो खेलाडी बने । नर्वेविरुद्धको खेलमा उनकै गोलको सहारामा इंग्ल्यान्डले सेमिफाइनल यात्रा तय गर्यो ।
इंग्ल्यान्ड र अर्जेन्टिना दुवै संघर्षरत जित निकाल्दै सेमिफाइनलसम्म पुगेका हुन् । सेमिफाइनलको भिडन्त दुवै टोलीका निम्ति प्रतिष्ठाको भिडन्त बन्ने देखिन्छ।
इंग्ल्यान्ड सन् २०१८ यता युरो कप र विश्वकप गरी चारपटक मात्र सेमिफाइनलसम्म पुगेको छ । जारी विश्वकपमा इंग्ल्यान्डले लगातार चार खेल जितेको छ । इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उपाधि जितेको थियो । त्यसपछि विश्वकपको एक संस्करणमा सबैभन्दा बढी विजयी यात्रा इंग्ल्यान्डको यसपालि हो ।
अर्जेन्टिनाबाट क-कसले लगाए जर्सी नम्बर १० ?
अर्जेन्टिनाबाट हालसम्म १० खेलाडीले जर्सी नम्बर १० लगाएका छन् । सन् १९५८ मा अलफ्रेडो रोजस उक्त नम्बरमा मैदान उत्रिएका थिए । यस्तै, १९६२ मा जोस सेनफिलिपोले उक्त जर्सी पहिरिए । सन् १९६६ मा रोबर्टो पर्फ्युमोले उक्त जर्सी लगाए । यस्तै, रेन हाउसम्यानले सन् १९७४ मा लगाएका थिए । सन् १९७८ देखि मारियो केम्पेसले पहिरिए । सन् १९८२ देखि १९९४ मा डियगो म्याराडोनाले उक्त जर्सी लगाए । एरियल ओर्टेगा सन् १९९८ र २००२ मा उम्थ जर्सीमा देखिए । सन् २००६ मा जुआन रोमनले उक्त जर्सी पहिरिए । लियोनल मेसी सन् २०१० देखि २०२६ सम्म मेसी उक्त जर्सीमा देखिएका छन् ।
इंग्ल्यान्डबाट क-कसले लगाए जर्सी नम्बर १० ?
इंगल्यान्डबाट ११ खेलाडीले जर्सी नम्बर १० पहिरिएका छन् । सन् १९५४ मा टमी टेलरले लगाएका थिए । सन् १९५८ मा जोनी हेन्सले पहिरिए । सन् १९६२ मा गेरी हिचेनले लगाए भने सन् १९७० मा जेफ हर्सटले पहिरिए । यस्तै सन् १९८२ मा ट्रेभर ब्रुकिङले लगाए भने सन् १९८६ मा गेरी लिंकर उक्त जर्सी नम्बरमा मैदानमा उत्रिए । जोन बार्न्सले सन् १९९० मा उक्त नम्बरको जर्सी लगाए । मिचेलन ओवन १९९८ देखि २००२ सम्मका तीन संस्करणमा उक्त जर्सीमा देखिए । वायन रूनीले २०१० र २०१४ का संस्करणमा उक्त जर्सी पहिरिए ।
रहिम स्टर्लिङले २०१८ र २०२२ को संस्करणमा त्यो जर्सी लगाए । २०२६ को संस्करणमा जुड बेलिंघम जर्सी नम्बर १० मा मैदानमा उत्रिएका छन् । नर्वेसँगको खेलमा बेलिंघमले दुई गोल गरे पनि टचेलले दिएको प्रतिक्रियाले बेलिंघम खुसी भएनन् । टचेलले उक्त खेलमा इंग्ल्यान्डलाई भाग्यले साथ दिएको प्रतिक्रिया दिएका थिए । कोचको भनाईमा बेलिंघमले भनेका छन्,''एर्लिङ हालाण्ड, मार्टिन ओडेगर्ड, एन्टोनियो नुसा, अलेक्सजेन्डर सोर्लोथ जस्ता खेलाडीविरुद्धको दबाब कोचले महशुस गर्न सकेनन्,'' बेलिंघको प्रतिक्रिया थियो ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँगको भिडन्तमा बेलिंघमको सानदार प्रदर्शनले निरन्तरता पाउनेमा इंग्ल्यान्डको टोली आशावादी छ ।
Comments