पूर्वराजा ज्ञानेन्द्रको राष्ट्रिय एकताको अपिल : ‘जातीय र धार्मिक सद्भाव जोगाऔँ’

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नेपाली समाजमा आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैलाई आग्रह गरेका छन्।

शुक्रबार (साउन १४) निर्मल निवासबाट जारी गरिएको सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै यही विविधताले नेपालको पहिचान र गौरव कायम राखेको बताएका छन्। यसलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ। 

सन्देशमा हालै सुनसरी जिल्लाका केही स्थानमा भएको आपसी द्वन्द्व तथा त्यसबाट जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाले समाजमा अशान्ति फैलाउने भएकाले सबै नेपालीले संयमता अपनाउनुपर्ने उल्लेख गरिएको छ। उनले कुनै पनि समुदायबीच वैमनस्य बढाउने गतिविधिबाट टाढा रहँदै मेलमिलाप, सहिष्णुता र पारस्परिक सम्मानलाई प्राथमिकता दिन आग्रह गरेका छन्। 

पूर्वराजा ज्ञानेन्द्रले नेपालका सबै नागरिकलाई धर्म, जाति र क्षेत्रभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र भाइचाराको भावना बलियो बनाउन आह्वान गरेका छन्। सन्देशको अन्त्यमा उनले “जय नेपाल” उल्लेख गर्दै सबै नेपालीबीच आपसी विश्वास र एकता कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। 


Comments

Popular posts from this blog

एउटा ऐतिहासिक यात्रा र आमाको साथ

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २६ सय विन्दुमा झर्‍यो

कबिन्द्र बुर्लाकोटीले अचानक फिर्ता लिए महामन्त्री पदको उम्मेदवा